बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटका नाममा ठगी, चार जना पक्राउ

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।



साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए ।

उनीहरूले केवाईसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटीपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण मागेमा उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।